नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

माननीय अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्रि डा. युवाराज खतिवडाज्यूले २०७७ साउन ९ गते चलचित्र विकास बोर्डको निरिक्षण कार्यक्रममा व्यक्त गर्नु भएको मन्तव्यको सम्पादित अंश
अद्यावधिक मिति:२०७७-४-१२

चलचित्रकर्मिको सशक्त अभिनयले समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्न सक्छ ।अभिनयको माध्यमवाट समाजमा अमिट छाप छोडी सामाजिक मुल्य मान्यता स्थापित गर्न सक्ने सञ्चार क्षेत्रको एक माध्यम चलचित्रले धेरै वर्ष अगाडिका कुराहरु जिवन्त राख्न प्रभावकारी भुमिका खेलेको देखिन्छ । हाम्रो मुलुक, सिँगो राष्ट्र, हाम्रो राष्ट्रियता, हाम्रो भौगोलिक अखण्डता, हाम्रो सामाजिक सदभावहरु, राष्ट्र एकताका कुराहरु र हाम्रो गौरवपूर्ण इतिहास र अहिलेका हाम्रा चुनौति र भोलिका सम्पुर्ण नेपालीहरुले गर्नुपर्ने कुराहरु समेत मनोरञ्जनात्मक ढंगले तर सन्देशमूलक ढंगले सम्प्रेषण चलचित्र जस्तो माध्यमवाट प्रसारित हुदाँ सवैभन्दा प्रभावकारी भएको देखिन्छ। चलचित्रका कथाहरु समाजलाई ठुलो भारी हुने गरी अर्थात वोझ हुने गरी जानु पनि जरुरी छैन्, अभिनेताहरुले हाँस्दा हास्दै, हसाउँदा हसाउँदै एउटा सन्देश दिईरहनु भएको हुन्छ। समाजका लागि कला भनेकै त्यही हो र त्यस्तै कलाको सम्वर्द्धन गर्दै चलचित्र विकास वोर्ड अगाडि बढोस भन्ने शुभकामना दिन चाहन्छु ।

अहिले चलचित्र विकास वोर्ड र नेपाल सरकारको स्थिति लगभग लगभग उस्तै उस्तै हो । विदेशी सिनेमाहरु चल्न नपाउँदा शुल्क उठ्न सकेन र नेपाल सरकारको पनि आयात घट्यो, आयात घटे पछि आयातमा आधारित राजश्व कम भयो, आन्तरिक उत्पादन प्रक्रिया अवरुध्द भई आन्तरिक राजश्वमा प्रतिकुल असर परेको छ । अहिले हामीलाई दुईवटा चुनौतिहरुको सामना गर्नु परेको छ । कोभिड १९ वाट जीवन रक्षा पहिलो दायित्व, त्यो जीवन रक्षाको दायित्व निर्वाह गर्नका लागि चालिएको कदमवाट अर्थतन्त्रमा परेको प्रतिकुल असर सम्बोधन दोस्रो दायित्व हो । अवको चुनौती भनेको कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्दै हाम्रा सम्पुर्ण क्रियाकलापलाई, आर्थिक क्रियाकलापलाई, व्यवसायिक क्रियाकलापलाई पुरानै सामान्य अवस्थामा फर्काउनु हो । त्यसै अनुसार हामीले पछिल्लो चोटि गरेको निर्णय साउन ७ गतेवाट लागु भएको छ। भदौ १ गतेसम्मलाई हामीले केहि क्रियाकलापहरुलाई केहि हदसम्म खुकुलो पनि गरेका छौं ।स्वास्थ जोखिम कम भएकोले लकडाउनलाई खुकुलो गरेको भन्ने कुरा होइन।बास्वममा जोखिम न्यूनिकरण गर्न चालिएका कदमहरुवाट हाम्रो दैनिकी जनजीवन यति अप्ठ्योरोमा पर्ने स्थिति भयो कि हामीलाई फेरि अर्को किसिमको रोग सँगसँगै भोकको समस्या पनि बढ्ने भएकोले दुइवटालाई सँगसँगै मिलाएर लानुपर्छ भनेर साउन मसान्तसम्मको लागि एउटा हामीले निर्णय गरिसकेका छौं ।

अव द्रोस्रो चरणमा भदौ १ गते पछिका चरणमा केहि अरु क्रियाकलापहरु सुरक्षित ढंगले अघि बढाउने सन्दर्भमा पनि संकेत गरिसकिएको छ। विद्यालयको पठनपाठनसँग सम्वन्धित भर्ना, परीक्षा जस्ता विषयहरु सुचारु हुने गरी भदौ १ गते बाट अघि बढाईएको छ। त्यसै गरी लामो दुरिका सार्वजनिक सवारी साधनहरु चल्ने,त्यसै गरी आन्तरिक उडान सुरक्षा कायम गर्दै अघि बढ्ने भदौको दोस्रो हप्तावाट सम्भव होला । यसैगरी सम्भाव्य रुपमा चलचित्र क्षेत्रमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु बनाएर भौतिकदूरी कायम गरेर चलाउन सकिन्छ भने हामीले क्रमशः त्यो विषयमा पनि छलफल गरेर अघि बढ्न सक्छौं। त्यसको मापदण्ड चलचित्र विकास वोर्डले तयार पनि गरेको छ। त्यसमा ‍हामी थप छलफल गरेर टुँग्गोमा पुगौंला। त्यसो भयो भने मलाई लाग्छ चलचित्र क्षेत्रमा पनि केहि गतिविधिहरु चलायमान रहन्छन् र चलचित्रकर्मीहरु, लगानीकर्ताहरु र सम्पुर्ण यो क्षेत्रलाई एउटा उत्साहको वातावरण बन्न सक्छ।सो सन्दर्भमा त्यो वेलासम्म कतिपय कार्यक्रमहरु अलि अप्ठ्यारोमा पर्ने हो कि भन्ने चिन्ता वोर्डको रहेको देखिन्छ ।अहिलेको विषम परिस्थितिमा स्वभाविक रुपले अति प्रभावित क्षेत्रमा चलचित्र क्षेत्र परेकोले यस क्षेत्रलाई मौद्रिक नीतिले गर्ने सम्वोधन मौद्रिक नीतिमा आइसकेको छ र अव चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पुँजि क्षय हुन नदिन र अफ्ठ्यारो पर्न नदिन ऋण तिर्ने अविधिलाई पर सारिदिने, व्याज तिर्ने कुरालाई अलि पर सारि दिने र अन्य कतिपय विषयहरुको सम्बोधन एवं फर्महरुको नविकरणको कुराहरु बजेटमा नै आईसकेको छ।यसै गरी विकास शुल्क नउठेका कारण चलचित्र विकास बोर्डका कार्यक्रमहरु अगाडि बढाउन नसकिने विषयका लागि अहिले भर्खर साउन शुरुवातमा छ भदौ पछि फरक चित्र आउन सक्छ । असोजमा सामान्य अवस्थामा फर्किन सक्ने अवस्था पनि आउन सक्ने हुनाले अहिले नीतिहरुलाई परिमार्जन, आचारसंहितालाई व्यवस्थित र कानूनि प्रक्रियामा सुधारमा जोड दिदै गर्न सकिन्छ । बोर्डको स्वायत्तताका लागि आवश्यक कानूनी प्रवन्धहरु के गर्नु पर्ने हो यो महिनाभरी त्यसमा जोड गरौं अनि आगामि दिनमा बोर्डको विकास गतिविधिहरु अगाडि बढाउँन सकिने भएकोले अहिले यो समय चलचित्र उद्योगको सुखद भविष्यको लागि गर्नुपर्ने नीतिगत निर्णयहरुका सन्दर्भमा गर्नुपर्ने तयारीमा खर्च गरौं।

अव अर्को विषय पूर्वाधारको रहेकोछ ।यो पूर्वाधार भनेको अन्तर्राष्ट्रिय स्तरका सुटिङ्ग स्थल, छायाँकन नगरी अथवा सातै प्रदेशमा स्टुडियोहरु बनाउने कुराहरु पर्ने भएकोले यस्का लागि आवश्यक प्रक्रियाहरु निर्माणमा लाग्नु पर्ने हुन्छ । शुरुमै पैसा चाहिने होइन, शुरुमा चाहिने भनेको के हो, स्थलको छनौट , Drawing डिजाइनहरु, Destination स्थलहरुको खोजमा लाग्नु पर्ने हुन्छ । हामीले छायाँकनका लागी नेपाल भनेका छौं छायाँकनका लागि नेपालभन्दा नेपालको डाँडाकाँडा, पहाड, पखेराहरु, नदिनालाहरु, सुन्दरताहरु मात्र विश्वमा चिनिउन र पर्यटकहरु आउन भन्ने मात्र होइन छायाँकनको लागि नेपाल भने पछि एउटा राजश्व आउने स्रोत पनि बन्न सक्ने विषय पनि हो । छायाँकनमा आउनेलाई नेपालको त्यो प्राकृतिक वैभव सितैंमा उपभोग गर्न नदिउँ, त्यसको लाभ नेपालीले समेत पाउन अलिकति शुल्क लिनु पर्ने हुन्छ । यस कार्यक्रमवाट प्रदुषण हुन सक्छ, कहिँ कतै समस्या आउन सक्छ, शान्ति सुरक्षा पनि दिनु पर्ने हुन सक्छ यस्ता धेरै कुरा सम्बोधन गर्न सरकारले त्यसको लागत उठाउनु पर्ने हुनाले सवै कर छुट दिन मिल्दैन् । यसरी कतिपय शुल्कको बारेमा सरकारको दृष्टिकोण र व्यवसायिक दृष्टिकोण फरक पर्न जान्छ । सरकारले अप्रत्यक्ष र प्रत्यक्ष रुपमा सहयोगीको भुमिका निर्वाह गर्नु पर्ने हुदाँ यस्ता उद्योगलाई निरुत्साहित नगर्ने गरी शुल्क उठाउँछ। चलचित्र विकास वोर्डको आफ्नै भवन पनि रहेकोले यसको पूर्वाधार पक्ष देखेर खुशि लाग्यो । खास गरी अहिले Story bank बनाउने कुरा, पुराना फिल्मलाई डिजिटाइज गर्ने कुरा त्यसै गरी अरु Equipment हरु अति राम्रोसँग व्यवस्थित ढंगले आधुनिक ढंगले अगाडि बढाउने कुरा, सेन्सर प्रणालिलाई अति व्यवस्थित गर्ने कुरा त्यसको लागि चाहिने उपकरणहरु यि सवै कुराहरुमा सञ्‍चार मन्त्रालयले आफ्नो क्षमता अनुसार वोर्डलाई सहयोग एवं शुल्क नउठेका कारण आधारभुत कार्यहरु नै गर्न नसकिने अवस्थालाई पनि हेर्न सकिन्छ ।

चलचित्रकर्मीहरुको वृत्ति विकास, उहाँहरुलाई दिइने सम्मान, उहाँहरुको जीवन वृत्तिसम्मका विषयका सम्बन्धमा जीवन पर्यन्त साहित्यमा सेवा गर्नेहरु, जीवन पर्यन्त पत्रकारिता गर्नेहरु, जीवन पर्यन्त कलाकारितामा लागेर राष्ट्र निर्माणमा भुमिकाका निर्वाह गर्नेलाई समकक्षीमा राखेर व्यवहार गर्नुपर्छ र गर्न सकिन्छ । हाम्रो क्षमता एवं स्रोतहरु सिमित छन् तरपनि हामीले जीवन प्रयन्त कलाकारितामा लागेर योगदान गर्नुहुने व्यक्तिहरुलाई सम्झनु पर्छ र सम्मान पनि गर्नुपर्छ ।त्यो क्षेत्रमा जनशक्तिको विकास होस, कलाकारिताको विकास होस भनेर छात्रवृत्तिका कुराहरु र अन्य सुविधाहरुको कुराहरुमा बोर्डले जे गरेको छ त्यसमा थप सहयोग गर्न सञ्‍चार मन्त्रालय तयारै छ । व्यवसायिक क्षेत्रका व्यक्तिहरुले जुन किसिमको पहुँच पाउनु हुन्छ, विदेश जाँदा कतिले रातो पासपोर्ट पाउनु हुन्छ, कतिले भिआइपि कक्षको प्रयोग गर्न पाउनु हुन्छ यसका लागि पनि एउटा मर्यादा क्रम र हाम्रो स्रोतको सिमाना हेरेर गर्न सकिने विषय हो। सवैलाई यो सुविधा उपलब्ध हुँदैन तर केहि छानिएका Star Ward अर्थात  मूर्धन्य कलाकारहरुलाई सम्मान गर्ने विषयमा छिमेकी मुलुकहरुको समेत अध्ययन गरेर एउटा कंक्रिट प्रोग्राम ल्याउनुस त्यो पनि हेर्न सकिन्छ ।

अन्त्यमा यो चलचित्र विकास वोर्ड चलचित्रको क्षेत्रमा काम गर्ने कलाकारहरुका लागि एउटा आदर्श संस्था रहेछ  पहिचानका कारण यसको सञ्‍चालक समितिको सदस्य बन्न पाईएमा कलाकारको जीवनको लक्ष्य पुरा हुन्छ भनेको  सुन्दा यसको प्रतिष्ठाको आँकलन गर्न सकिन्छ।साहित्यकारहरुका लागि प्रज्ञा प्रतिष्ठान अथवा अरु किसिमका कलाकारिताका लागि कला प्रतिष्ठान, नाट्य कला प्रतिष्ठान, ललितकला प्रतिष्ठान जस्तै यसलाई कलाकारहरुले सम्मानित संस्थाको रुपमा बुझ्नु भएको रहेछ ।वोर्डमा आउनुभएका नयाँ अध्यक्षज्यूको सुखद एवं फलदायी कार्यकालको लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।